कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगन थापाको माग, संयमता अपनाउन अपिल

by समतल अनलाइन
42Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै घाइते भएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउँदै सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने बताएका छन् । समयमै समन्वय र सुरक्षा सतर्कता अपनाउन नसक्दा यस्तो घटना भएको भन्दै यसलाई सरकारको गम्भीर सुरक्षा कमजोरीका रूपमा टिप्पणी गरेका छन् ।

थापाले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, घाइतेको उपचार र मृतकका परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको व्यवस्थापन गर्न पनि उनले आग्रह गरेका छन् ।

साथै उनले कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न स्थानीयवासी, नागरिक समाज, सामुदायिक संस्था तथा सबै राजनीतिक दललाई अपिल गरेका छन् ।

You may also like

This will close in 0 seconds