रूपन्देहीका विद्यालयमा सर्पदंश सचेतना अभियान सुरु

by समतल अनलाइन
41Shares

बुटवल। रूपन्देही जिल्लामा पछिल्लो समय सर्प र सर्पदंशका घटनामा वृद्धि हुन थालेपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक अभियान सुरु गरिएको छ।

धार्मिक संस्था रुद्र गणको पहलमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सर्पको पहिचान, विषालु र अविषालु सर्पबीचको भिन्नता, सर्पदंशबाट बच्ने उपाय, सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन्।

कार्यक्रममार्फत विद्यार्थी र शिक्षकलाई सर्पप्रति समाजमा रहेका भ्रम तथा अन्धविश्वास हटाई वैज्ञानिक र व्यवहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। साथै मानव सुरक्षा र सर्प संरक्षणबीच सन्तुलन कायम गर्दै वातावरणीय संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने विषयमा समेत सहभागीलाई जानकारी गराइएको छ।

आयोजकका अनुसार विद्यालयस्तरबाट सुरु गरिएको यो अभियान आगामी दिनमा रूपन्देहीका अन्य विद्यालय तथा समुदायसम्म विस्तार गरिनेछ। सर्पदंशबाट हुने मानवीय क्षति न्यूनीकरण, सही प्राथमिक उपचारबारे जानकारी विस्तार तथा सर्प संरक्षणप्रति सकारात्मक सोच विकास गर्नु अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ।

You may also like