काठमाडौं। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रीमा विश्वकर्माले ‘न्याय पाउन, पीडा सुनाउन नागरिकले आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो ?’ भन्दै प्रश्न गरेकी छन् ।
मंगलबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले देशमा आत्मदाहको घटना बढेको भन्दै ‘नीति सुधारको दौडमा रहेको सरकार कतै हतार गरिरहेको त छैन ?’ भनी प्रश्न गरिन् । उनले भनिन्, ‘जसका लागि कानुन बनाउँदै छौँ, कतै उनीहरू नै त्यसको मारमा त परिरहेका छैनन् ?’
सरकारलाई ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने भनाइ सुनाउँदै उनले भनिन्, ‘एक्सप्रेस वेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु, हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ ।’
सरकारले मानसिक स्वास्थ्यलाई पनि प्राथमिक एजेन्डाका रूपमा स्थापित गर्न जरुरी रहेकोमा उनले जोड दिइन् । राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई आत्मसात् गर्न जरुरी रहेको उनले बताइन् ।

