एजेन्सी। फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा दुई युरोपेली महाशक्ति फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। टेक्सासमा हुने यो बहुप्रतीक्षित प्रतिस्पर्धाले विश्वकपको पहिलो फाइनलिस्टको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। यससँगै उसले ब्राजिल र जर्मनीको लगातार तीन विश्वकप सेमिफाइनल खेलेको कीर्तिमान बराबरी गरेको छ। प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोलीले यस विश्वकपमा प्रति खेल औसत २.७ गोल गरेको छ, जुन अर्जेन्टिनापछि दोस्रो उत्कृष्ट प्रदर्शन हो। अझ प्रभावशाली पक्ष भनेको नकआउट चरणमा फ्रान्सले अहिलेसम्म कुनै गोल बेहोरेको छैन।
उता, प्रशिक्षक लुइस दे ला फुएन्तेको नेतृत्वमा स्पेनको प्रदर्शन पनि उत्तिकै प्रभावशाली छ। टोली लगातार ३६ खेलदेखि अपराजित छ, जसमा २७ जित र ९ बराबरी समावेश छन्। युरोपियन च्याम्पियन स्पेन सन् २०१० मा विश्वकप जितेपछि दोस्रो पटक अन्तिम चारमा पुगेको हो।
हेड-टु-हेडमा स्पेनको अग्रता
फ्रान्स र स्पेनबीच अहिलेसम्म ३८ अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये स्पेनले १७, फ्रान्सले १४ खेल जितेको छ भने ७ खेल बराबरीमा सकिएका छन्। यस आधारमा समग्र हेड-टु-हेडमा स्पेन अगाडि छ।
पछिल्ला दुई प्रतिस्पर्धात्मक भेटमा पनि स्पेनले फ्रान्सलाई हराएको थियो। स्पेनले युरो २०२४ को सेमिफाइनलमा २-१ र यूईएफए नेसन्स लिग २०२४-२५ को सेमिफाइनलमा ५-४ ले फ्रान्सलाई पराजित गरेको थियो। त्यसैले यस पटक पनि स्पेन उच्च मनोबलका साथ मैदानमा उत्रनेछ।
एम्बाप्पे र यामालमाथि सबैको नजर
फ्रान्सका कप्तान किलियन एम्बाप्पे प्रतियोगिताभर उत्कृष्ट लयमा छन्। उनले ६ खेलमा ८ गोल र ३ असिस्ट गरेका छन्। विश्वकपमा उनको कुल गोल संख्या २० पुगेको छ भने जारी संस्करणमा अर्जेन्टिनाका लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता पनि हुन्। एम्बाप्पेले प्रति ९० मिनेट ३।३ पटक लक्ष्यमा प्रहार गर्दै स्पेनको रक्षापंक्तिका लागि ठूलो चुनौती प्रस्तुत गरेका छन्।
स्पेनका १९ वर्षीय युवा स्टार लामिन यामालले समूह चरणपछि गोल गर्न नसके पनि प्रति ९० मिनेट ५।१ प्रहार गर्दै टोलीका सबैभन्दा खतरनाक आक्रमणकारी बनेका छन्। उनले फ्रान्सविरुद्ध पछिल्ला दुई खेलमा ३ गोल गरिसकेकाले यस खेलमा पनि उनी निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ।
टोलीको अवस्था
फ्रान्सका मिडफिल्डर ओरेलियन चुआमेनी चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् र सुरुआती टोलीमा रहने सम्भावना छ। कोउआडियो कोने पनि बेन्चमा फर्किन सक्छन्।स्पेनमा निको विलियम्स फिटनेसमा सुधार गर्दै टोलीमा फर्किने सम्भावना छ। उनी वा फेरान टोरेसमध्ये एकले सुरुआती अवसर पाउने अनुमान गरिएको छ।
अनुभव र प्रतियोगितामा देखाएको स्थिर प्रदर्शनका आधारमा फ्रान्सलाई हल्का दाबेदार मानिए पनि हेड(टु(हेडमा स्पेनको अग्रता, पछिल्ला दुई प्रतिस्पर्धात्मक भेटमा प्राप्त जित र लामो अपराजित यात्राले यो सेमिफाइनललाई विश्वकपकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक बनाएको छ।

