हिडेर काठमाडौँ आउँदै गरेका मिटरब्याजपीडितसँग गृहमन्त्रीले सुरु गरे निजगढको बाटैमा वार्ता

by समतल अनलाइन
45Shares

जनकपुरधाम : जनकपुरबाट पैदलै काठमाडौँ आउँदै गरेका मिटरब्याजपीडितलाई बिच बाटोमै रोकेर गृहमन्त्री सुधन गुरुङको वार्ता जारी राखेका छन् । बाराको निजगढमा मिटरब्याज पीडित र गृहमन्त्री गुरुङबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीस्तरीय बैठकको निष्कर्ष आएपछि तेस्रो चरणको वार्ता बस्ने सहमतिसहित सोमबारको छलफल टुंगिएको मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन्।

घिमिरेका अनुसार, मिटरब्याज समस्या समाधानका लागि प्रस्तुत ६ बुँदे मागमाथि प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको छ। उक्त बैठकको निर्णय आएपछि गृहमन्त्री र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनको नेतृत्वबीच पुनः तेस्रो चरणको वार्ता हुनेछ।

दोस्रो चरणको वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याजसम्बन्धी अध्ययनका लागि गठन गरिएका तीनवटै आयोग– गौरिबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

अभियन्ता घिमिरेका अनुसार वार्तामा सरकार र आन्दोलनरत पक्ष दुवैले आ–आफ्नो माग तथा प्रस्तावबारे आवश्यक गृहकार्य गर्ने सहमति भएको छ। उनले सरकारसँग लिखित सहमति नभए आन्दोलन नरोकिने स्पष्ट पार्दै भनेकी छन्, ‘यदि सरकार र आन्दोलनरत पीडित पक्षबीच मागपत्रका विषयमा लिखित सहमति हुन सकेन भने पैदल न्याय मार्च पुनः संघीय राजधानी काठमाडौंतर्फ अघि बढ्नेछ।’

मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीबाट काठमाडौंसम्मको पैदल न्याय मार्च सुरु गरेका थिए। फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयनलगायत ६ बुँदे माग उनीहरूको छ।

You may also like