‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी छानबिनका लागि जिल्ला तानिए

by समतल अनलाइन
29Shares

धनगढी। सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखड, कैलालीका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछ तथा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय तानिएको छ।

घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले राजनीतिक नेतृत्व र प्रहरी संगठनको मर्यादाविपरीत अभिव्यक्ति दिएका थिए। उनको सोही भनाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)नरेन्द्र चन्दले उनलाई सोधपुछका लागि जिल्ला बोलाएका हुन्।

के भनेका थिए डीएसपी चौधरीले ?
विद्यार्थी र स्थानीयको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै डीएसपी चौधरीले भनेका थिए, ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो।’

उनले अगाडि थपेका थिए, ‘हामी भोट हालेर टीका लगाएर आएका होइनौँ। दारु भात खाएर आएकै होइन। २०७० सालमा १३८ जनाबाट छनोट भएर आएको व्यक्ति हुँ।’ नेपाल प्रहरीले लगाउने बर्दी राष्ट्रपतिले समेत लगाउन नपाउने भन्दै उनले जनप्रतिनिधिहरू प्रति पनि आक्रामक टिप्पणी गरेका थिए। उनले आफ्नो भनाइलाई सार्वजनिक नगर्न अनुरोध गरे पनि कार्यक्रममा सहभागीहरूले खिचेको भिडियो सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचनाको विषय बनेको छ।

केन्द्रदेखि स्थानीय तहसम्म उजुरीको चाङ
उच्च प्रहरी स्रोतका अनुसार डीएसपी चौधरीलाई यो पछिल्लो अभिव्यक्तिबारे मात्र नभई उनको कार्यशैली, अनुशासन र विगतका गतिविधिहरूलाई लिएर पनि सोधपुछ भइरहेको छ। उनीविरुद्ध स्थानीय स्तरदेखि केन्द्रसम्म विभिन्न गुनासा र उजुरीहरू प्राप्त भएको प्रहरीले जनाएको छ।

यसअघि पनि संगठनको नीति–निर्देशन र व्यावसायिक मर्यादा पालना नगरेको विषयमा उनीसँग स्पष्टीकरण सोधिएको स्रोतको भनाइ छ। कैलाली प्रहरीले भने हाललाई उक्त अभिव्यक्ति कुन प्रसंगमा र कसरी आएको हो भन्ने विषयमा सामान्य सोधपुछ र परामर्शका लागि मात्र उनलाई जिल्ला झिकाइएको दाबी गरेको छ।

You may also like