नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाँड र पाण्डेलगायत दोषी ठहर, सातलाई सफाई

by समतल अनलाइन
12Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतका प्रतिवादी दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका मध्ये रायमाझी, खाँड र पाण्डेलगायतका प्रतिवादी दोषी ठहर गरेको हो ।

अदालतले खाँडम रायमाझी र पाण्डेसहित केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, संदेश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पालाई ठगि तथा संगठित अपराधमा दोषी ठहर गरेको छ ।

त्यस्तै प्रतिवादीहरु केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझीले संगठित रुपमा ठगी गरी उक्त कसूरबाट राज्य बिरुद्धको कसूर तथा एकिकृत कसूर गरेको ठहर गरेको भने अर्का प्रतिवादीहरु बालकृष्ण खाँड, टेकनाथ रिजाल, नरेन्द्र के.सी.,शमशेर र्मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसूरमा मतियार रहेको ठहर गरेको छ ।

त्यस्तै इजलासले सन्दिप रायमाझी, टंककुमार गुरुङ, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापासहित सात जनालाई सफाई दिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाउने प्रकरण बाहिर आएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनामाथि मुद्दा दायर गरेको थियो । इजलासले मुद्दाको फैसला गरे पनि सजाय निर्धारण गर्नका लागि पेश गर्ने आदेश गरेको छ ।

You may also like