काठमाडौँ ।सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि जापान पुगेका नेपाली विद्याथी सुरेन्द्र वलीको निधन भएको छ। शनिबार राति उनको निधन भएको हो। प्रान्तीय राजधानी चिबामा सहरमा उनको जीवन अन्त्य भएको हो।
सुरेन्द्रको मृत्युले टोकियोबाट केही टाढा रहेको चिबाको नेपाली समुदाय स्तब्ध बनेको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका एक सदस्यका अनुसार उनी त्यहाँ जापानी भाषा अध्ययनरत थिए।
गैरआवासीय नेपाली संघ, जापानका पदाधिकारी, रोल्पास्थित सुरेन्द्रको परिवार, गंगादेव गाउँपालिकाका जनप्रतिनिधिले घटनाको पुष्टि गरेका छन्।
उनको नेपाल ठेगाना रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ बल्ले डिमुरगौरा हो। ‘मृत्युको कारणबारे भोलि मंगलबारसम्म चिकित्सकले रिपोर्ट दिन्छु भनेका छन्’, एनआरएनए जापानका एक सदस्यले भने, ‘त्यसपछि के गर्ने भनेर हामी छलफल गरिरहेका छौँ।’ एनआरएनए जापान अन्तर्गत चिबा क्षेत्रका संयोजकमा कुलप्रसाद सुवेदी छन्।
जापान जाने ९० प्रतिशतभन्दा बढी नेपाली विद्यार्थी आइटी, एमबीए वा बिजनेस म्यानेजमेन्ट पढ्न जाने होइनन्। त्यहाँका विश्वविद्यालय वा कलेजहरुले एन–टू वा एन–वान तहको भाषा भएपछि मात्र भर्ना लिन्छन्। थप अध्ययनका लागि सुरेन्द्रले यस्तै भाषा स्कूलमा पढिरहँदा ज्यान गुमाएका हुन्।
तीन दाजुभाइमध्ये सुरेन्द्र माइला हुन्। जेठा रमेश र कान्छा कर्ण वैदेशिक रोजगारी क्रममा हिजोआज युनाइटेड अबर इमिरेट्स (युएई) मा छन्।

