बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवा-मैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २८औँ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारणसभा-२०८३ को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानुनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै सरकार गम्भीर भएर समाधानतर्फ अग्रसर हुनुपर्ने धारणा राखे ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको होटल व्यवसायको इतिहास खोजी गरी त्यसको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुटवललाई केन्द्रमा राखेर पहाडी क्षेत्रसँग जोडिने पर्यटन प्याकेज विकास गर्न, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न तथा मौलिक पहिचान झल्किने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । उनले नेवार, झ्याउरे, सरायलगायत विभिन्न जातजातिका सांस्कृतिक नृत्य संरक्षण तथा प्रवर्द्धनका लागि पालिकाले सञ्चालन गरिरहेका तालिमलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने बताए । प्रदेश राजधानी स्थानान्तरणपछि आर्थिक मन्दीको असरमा परेको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्न ट्राभल एजेन्सी, यातायात व्यवसायी र होटल क्षेत्रबीच समन्वय गरी एकीकृत योजना बनाउनुपर्नेमा उनले जोड दिए ।
संघका अध्यक्ष माधवकुमार खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै होटल व्यवस्थापन, खाद्य स्वच्छता, नेतृत्व विकास तथा उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिए । उनले बुटवल खाना महोत्सव, मौलिक परिकारको प्रवद्र्धन, पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम तथा नगरस्तरीय पर्यटन समिति गठनका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याए । विकासका लागि निरन्तर दबाब र सहकार्य अपरिहार्य रहेको उनको भनाई थियो ।
कार्यक्रममा संघका संस्थापक सचिव माधवप्रसाद नेपाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रशान्त श्रीवास्तव, याक ब्रुअरी प्रालिका प्रीतम गिरी, संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा महासचिव केशवराज कँडेलले होटल व्यवसायको संख्या बढ्दै गए पनि सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
यस अवसरमा संस्थाको विकासमा निरन्तर योगदान पुर्याएका पूर्वअध्यक्ष, सल्लाहकार तथा सहयोगदातालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए ।

