काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट एकता हुने आफूले नदेखेको बताएका छन्। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रिय सभागृहमा आयोजना गरेको गोष्ठीमा बोल्दै उनले एकताको हल्लाले वाक्कदिक्क बताए ।
मदन भण्डारीले भनेजस्तै ‘कुरा गरेर मात्रै चिउरा नभिज्ने’ उदाहरण दिँदै उनले भने, ‘हामीले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौँ, वा हामीमा के–के विकृति आए ? यसको आत्मसमीक्षा गरौँ । यो एउटा पार्टीको मात्रै कुरा होइन, नेपालका जति पनि कम्युनिस्ट घटक छन्, ती सबैले आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौँ भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौँ ।’
उनले मिल्नसक्ने विषयमा मिलेर अघि बढ्नुपर्ने आवश्यकता आजको प्रमुख खाँचो रहेको जिकिर गरे । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन, कुरो मात्रै गरेर केही हुनेवाला छैन,’ नेपालले भने, ‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ ।’
उनले भावनाका कुराले मात्रै नहुने बताउँदै एकताको चर्चाप्रति असन्तुष्टि जनाए । ‘अहिले खुब चर्चामा आउने गरेको छ, कम्युनिस्ट पार्टी आजै मिले, भोलि मिले, बिहानै मिले, बेलुकै मिले । यो प्रश्नको जवाफ दिँदा मेरो पनि दिमाग खराब भइरहेको छ, मैले त्यस्तो देखिरहेकै छैन,’ उनले भने, ‘जसजसले देख्नुभएको छ, ठिकै छ । जसले देखेको छ, उसैले अगाडि बढ्ने हो । अगाडि बढेर इतिहास बनाउन सक्नुपर्छ ।’
आत्मकेन्द्रित चिन्तनलाई पराजित गर्न नसकेसम्म गफमात्रै हुने उनको भनाइ थियो । ‘समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेपछि नेपाली समाजलाई कसरी अघि बढाउने ? त्यसका निम्ति हामी कहाँबाट चुक्यौँ ? कहाँ गल्ती गर्यौँ ? यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भएको छ ? हामी सबैले आत्मसमीक्षा गरौँ,’ उनले भने, ‘के कारणले यस्तो भयो ? विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादले ? मै हुँ भन्ने प्रवृत्तिले वा भ्रष्टाचार गर्ने प्रवृत्तिले ? के–के कारणले हो, समीक्षा गरौँ ।’
मदन भण्डारीको स्मरण गर्दै उनले उनको विचार पछ्याउन आग्रह गरे । ‘उहाँ परसम्मको दृष्टिकोण राखेर चल्नुहुन्थ्यो, समस्याको पहिचान गर्न खोज्नुहुन्थ्यो, वास्तविकताको धरातलमा जोड दिनुहुन्थ्यो र चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो,’ नेपालले भने, ‘पार्टीको अनुशासन कहिल्यै नतोड्ने र प्रतिस्पर्धामा श्रेष्ठ हुने कुरामा उहाँले जोड दिनुभएको थियो । जबजका कतिपय पक्ष हामीले अहिले पनि ग्रहण गर्नुपर्ने हुन्छ ।’


