कम्युनिस्ट एकता गरेको भए १०० सिट जितिन्थ्यो, बालेनको ‘तानाशाही’ चल्दैनथ्यो : झलनाथ खनाल

by समतल अनलाइन
60Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी शक्तिहरू फेरि एकताबद्ध हुन लागेको बताएका छन् ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै खनालले क्रान्तिलाई नयाँ उचाइबाट अगाडि बढाउने गरी वामपन्थी शक्तिहरू एकताबद्ध हुन लागेको बताएका हुन् । वामपन्थी एकता धेरै अघिदेखि नै जरुरी रहेकामा अहिले बाध्यात्मक परिस्थिति सिर्जना भएकाले एकता अपरिहार्य रहेको उनको भनाइ छ ।

‘बीचको कालखण्डमा हामीमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । कहिले अरू के–के पलायो–पलायो, त्यसकारण हामी एकताबद्ध हुन सकेनौँ,’ उनले भने, ‘अब परिस्थितिले बाध्य बनाएको छ । यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ ।’

आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउने कामको थालनी गर्न उनले आह्वान गरेका छन् । ‘हामी निकै लामो समयदेखि वैचारिक रूपले भिन्नभिन्न भएर आएका छौँ । यो भिन्नता एउटा विचार गोष्ठीले मेटिनेवाला छैन । लामो यात्रा गर्नुपर्ने छ, कम्तीमा आजको ज्वलन्त विषयमा एक हुँदै कार्यगत एकता गरेर अगाडि बढ्नुपर्नेछ,’ उनले भने ।

कम्युनिस्टहरू छिन्नभिन्न भएकाले भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी आन्दोलनले शर्मनाक पराजय बेहोर्नुपरेको उनको भनाइ थियो । ‘यदि निर्वाचनअघि नै दुई दलले कार्यगत एकता गरेको भए परिणाम अर्कै हुन्थ्यो । हिसाब गर्नुस्, नेकपाको १७ सिट र एमालेको २५ सिट जोड्दा ४२ सिट हुन्थ्यो । तर हामी जुध्दा ३२ सिट गुमायौँ, त्यो सिट हाम्रै हुन्थ्यो । त्यो जोड्दा ७२ हुन्थ्यो, दुई पार्टीबीच एकता भएको भए यो संख्या अझ बढ्थ्यो,’ उनले भने, ‘करिब १०० सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन ।’

You may also like