बिसिआईद्वारा नेपाल आर्मीमा नाम निकाल्न सफल ७२ युवालाई बिदाइ

by समतल अनलाइन
123Shares

बुटवल । बुटवल–११ गोलपार्कस्थित बीसीआई मल्टिपल कम्प्युटर इन्स्टिच्युटले नेपाल आर्मीमा छनोट भएका ७२ जना युवालाई एक समारोहबीच बधाई तथा सम्मान गरेको छ।

विहीबार आयोजित कार्यक्रममा संस्थामार्फत अध्ययन तथा तयारी गरेका युवाहरू नेपाल आर्मीमा सफलतापूर्वक छनोट भएपछि उनीहरूको मेहनत, लगनशीलता र उपलब्धिको कदर गर्दै सम्मान गरिएको हो।

संस्थाका प्रबन्ध निर्देशक दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक योगराज पोखरेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा अतिथीहरुमा पशुपति भट्टराई, जीवन पाण्डे, नेपाल प्रहरीका वरिष्ठ सई कमल भण्डारी, प्रशिक्षक कमल जीसी तथा दिपक पराजुली शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक केसीले संस्थाबाट तयारी गरेका ७२ जना युवा नेपाल आर्मीमा छनोट हुनु बिसिआईका लागि गौरवको विषय भएको बताए। उनले युवालाई परीक्षा उत्तीर्ण गराउने मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकासमा समेत संस्था निरन्तर सक्रिय रहेको उल्लेख गरे।

प्रमुख अतिथि पोखरेलले नेपाल आर्मीमा छनोट हुनु व्यक्तिगत सफलता मात्र नभई परिवार, समाज र राष्ट्रकै गौरवको विषय भएको बताउँदै राष्ट्रसेवाको जिम्मेवारी उच्च मनोबल, इमान्दारिता र समर्पणका साथ निर्वाह गर्न आग्रह गरे।

वरिष्ठ सई भण्डारीले सुरक्षाकर्मीको जीवनमा अनुशासन, कर्तव्यनिष्ठा र देशप्रतिको निष्ठा सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै राष्ट्र र जनताको सेवामा समर्पित भएर काम गर्न सुझाव दिए।

प्रशिक्षक कमल जीसी, पशुपति भट्टराई र जीवन पाण्डेले युवाहरूको सफलताले अन्य युवामा समेत सकारात्मक ऊर्जा र प्रेरणा थपेको बताउँदै निरन्तर मेहनत, दृढ संकल्प र सही मार्गदर्शनबाट जुनसुकै लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे।

संस्थाले आगामी दिनमा पनि दक्ष, अनुशासित र सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित विभिन्न तयारी कक्षा तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रमको सञ्चालन सुनिल नेपालीले गरेका थिए।

You may also like