पोर्चुगलको विश्वकपमा निराशाजनक शुरुवात, डिआर कङ्गोले बराबरीमा रोक्यो

by समतल अनलाइन
12Shares

काठमाडौँ । पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग निराशाजनक बराबरी खेलेको छ । प्रभावशाली प्रदर्शन गरेको डिआर कङ्गोले बलियो पोर्चुगललाई रोक्दै महत्वपूर्ण एक अंक बटुल्न सफल भएको हो ।

खेलको छैटौँ मिनेटमै मिडफिल्डर जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पेड्रो नेटोको बायाँ विङबाट आएको क्रसलाई उनले जाली चुमाएका थिए ।

त्यसपछि पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि त्यसलाई प्रभावकारी आक्रमणमा बदल्न सकेन । लगातार बल नियन्त्रणमा राखे पनि गोल गर्ने अवसर सिर्जना गर्न टोली असफल रह्यो ।

पोर्चुगलको यही कमजोरीको फाइदा डिआर कङ्गोले पहिलो हाफको अतिरिक्त समयको पाँचौँ मिनेटमा उठायो । आर्थर मासुआकुको क्रसमा न्युक्यासलका फरवार्ड योआने विस्साले कुनै मार्किङबिना छ यार्डबाट हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । यो डिआर कङ्गोको विश्वकप इतिहासकै पहिलो गोल पनि बन्यो ।

यसअघि सन् १९७४ मा तत्कालीन जायरेका रूपमा विश्वकप खेलेको डिआर कङ्गोले तीनवटै खेल हार्दै १४–० को समग्र नतिजा बेहोरेको थियो । तर ५२ वर्षपछि विश्व वरीयताको ४६औँ स्थानमा रहेको डिआर कङ्गो निकै बलियो टोलीका रूपमा देखिएको छ ।

डिआर कङ्गोले रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै प्रतिआक्रमणमा पनि लगातार खतरा सिर्जना गर्यो । सेड्रिक बाकाम्बुले नजिकको दूरीबाट गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । उनले अर्को अवसरमा गरेको प्रहार भने लक्ष्यभन्दा बाहिरिएको थियो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गर्दै छैटौँ पटक विश्वकपको अन्तिम चरण खेलेका छन् । तर ४१ वर्षीय रोनाल्डोले लगातार छैटौँ फरक विश्वकपमा गोल गर्ने इतिहास रच्ने अवसर भने पहिलो खेलमै पूरा गर्न सकेनन् । दोस्रो हाफको मध्यतिर वैकल्पिक खेलाडी फ्रान्सिस्को कोन्सेइसाओले दिएको दुईवटा लो कटब्याक पासमा रोनाल्डोले प्रहार गरे पनि दुवै प्रयास लक्ष्यभन्दा थोरैले बाहिरिए ।

पोर्चुगलसँग धेरै प्रतिभावान खेलाडी भए पनि टोलीले पूरै खेलमा जम्मा चारवटा प्रहार मात्र गर्न सकेको थियो ।

पोर्चुगलले अब अर्को खेल जुन २३ मा उज्बेकिस्तानसँग खेल्दैछ भने त्यसपछि जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका छन् । त्यस्तै डिआर कंगोले भने जुन २४ मा कोलोम्बियासँग र जुन २८ मा उज्बेकिस्तानसँग खेल्ने छ ।

You may also like