तिलोत्तमाको महत्वाकांक्षी घोषणा : आफ्नै कलेजमा नर्सिङ–फार्मेसीदेखि निःशुल्क मलामी बससम्म

शिक्षा, स्वास्थ्य र अवसरको वर्ष’ घोषणा, सडक मर्मत वर्षदेखि सुशासन सिकाइ केन्द्र बनाउने लक्ष्य

by समतल अनलाइन
53Shares

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ लाई ‘शिक्षा, स्वास्थ्य र अवसरको वर्ष’ का रूपमा घोषणा गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र डिजिटल सुशासनलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख रामकृष्ण खाँण ले नगर सभाको २१औँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नै सिटी कलेजमा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कक्षा सञ्चालन, स्थानीय घाटसम्म निःशुल्क मलामी बस सेवा, सुलभ ल्याब, महिलामैत्री हाटबजार तथा सुलभ एग्रोभेट पसल सञ्चालन जस्ता कार्यक्रम समेटिएका छन्।

नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न डिजिटल कृषि सेवा, किसानलाई सेवा कार्डमार्फत अनुदान, दूध उत्पादकलाई प्रतिलिटर दुई रुपैयाँ अनुदान, निःशुल्क किसान स्टल तथा कृषि उत्पादनको सङ्कलन र बजारीकरणलाई प्राथमिकतामा राखेको छ। पर्यटनतर्फ ‘भिजिट लुम्बिनी, स्टे तिलोत्तमा’ अभियान सञ्चालन गर्दै शंकरनगर वन विहारमा भ्यू टावर, कुञ्ज पार्कमा लेजर लाइटसहितको रात्रिकालीन उद्यान तथा थारू होमस्टे प्रवर्द्धनका कार्यक्रम अघि सारिएको छ।

पूर्वाधार विकासअन्तर्गत आगामी वर्षलाई ‘सडक मर्मत वर्ष’ घोषणा गरिएको छ भने ऐतिहासिक पुरानो सडकलाई बहुवर्षीय गौरवको आयोजनाका रूपमा अगाडि बढाइने भएको छ। स्वास्थ्य क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क भिडियो एक्स–रे, आवश्यक रगत निःशुल्क उपलब्ध गराउने तथा ‘कोखदेखि शोकसम्म तिलोत्तमा सरकार’ अभियानलाई थप विस्तार गरिने भएको छ।

नगरपालिकाले ‘कार्यालयमा लाइन होइन, अनलाइन सेवा’ नीतिमार्फत डिजिटल सुशासनलाई समेत प्राथमिकतामा राखेको छ। साथै तिलोत्तमालाई ‘गुड गभर्नेन्स लर्निङ अर्गनाइजेसन’ अर्थात् सुशासन सिकाइ केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरेको छ।

यद्यपि नीति तथा कार्यक्रममा समेटिएका अधिकांश योजना महत्वाकांक्षी र जनमुखी देखिए पनि तिनको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापन र परिणाममुखी उपलब्धि नै आगामी वर्ष तिलोत्तमा नगरपालिकाका लागि मुख्य चुनौती र परीक्षाको विषय बन्ने देखिन्छ।

You may also like