रुपन्देही क्रिकेट सुधारका एजेन्डासहित मैदानमा शक्ति गौचन

by समतल अनलाइन
31Shares

बुटवल । नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले रुपन्देही क्रिकेट सङ्घको आगामी जेठ २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उनले क्रिकेट पूर्वाधार विकास, खेलाडीको भविष्य सुरक्षित गर्ने, नियमित प्रतियोगिता सञ्चालन गर्ने र सङ्घलाई थप व्यवस्थित बनाउने आफ्नो मुख्य योजना रहेको बताएका छन्।

गौचनले क्रिकेटको विकास जिल्लाको एक–दुई स्थानमा मात्र सीमित नभई गाउँस्तरसम्म पुग्नुपर्ने बताए। एक्सट्राटेक ओभल, देवदह र सैनामैनालगायत क्षेत्रमा रहेका क्रिकेट पूर्वाधारलाई थप विस्तार र स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

खेलाडीहरूको भविष्य सुरक्षित गर्न स्थानीय स्तरमै ‘कन्ट्र्याक्ट सिस्टम’ लागू गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गरी खेलाडीलाई आर्थिक अवसर उपलब्ध गराउने योजना सुनाए।

युवा खेलाडीको विकासका लागि अन्डर–१४, अन्डर–१६, अन्डर–१९ र अन्डर–२३ प्रतियोगिता नियमित सञ्चालन गरिने तथा क्लबस्तरीय प्रतियोगितालाई पनि निरन्तरता दिइने उनले बताए।

नेपाल प्रिमियर लिगको लुम्बिनी लायन्स सँग आबद्ध रहेका गौचनले रुपन्देहीका प्रतिभावान खेलाडीलाई फ्रेन्चाइज क्रिकेटसम्म पुग्ने अवसर सिर्जना गर्न पहल गर्ने बताए।

रुपन्देही क्रिकेटमा नयाँ सोच र योजनासहित आफू चुनावी मैदानमा उत्रिएको बताउँदै गौचनले जिल्लालाई नेपालकै उत्कृष्ट क्रिकेट केन्द्र बनाउने लक्ष्य रहेको उल्लेख गरे।

You may also like