रास्वपाको पहिलो महाधिवेशनमा अधिकांश पुरानै अनुहार दोहोरिने निश्चित

by समतल अनलाइन
47Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी पहिलो महाधिवेशनबाट केन्द्रीय, प्रदेश र जिल्ला तहको मूल नेतृत्वमा अधिकांश पुराना अनुहार नै दोहोरिने सम्भावना बलियो बनेको छ। स्थापनाको चार वर्षसम्म तदर्थ समितिको कमान्ड सम्हालेका वर्तमान सभापति रवि लामिछाने नै पार्टीको सर्वोच्च पदमा निरन्तर रहने निश्चित भएको छ भने अन्य पदाधिकारीहरू पनि धेरैजसो पुरानै पदमा कायम रहने मुडमा देखिएका छन्।

पार्टीभित्र राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेताको जिम्मेवारी पाएका प्रधानमन्त्री बालेन्द्र शाहको भूमिका महाधिवेशनपछि पनि यथावत् रहने नेताहरूले बताएका छन्। यसअघि कार्यवाहक सभापतिसमेत भइसकेका उपसभापति डीपी अर्याल हाल सभामुख बनेका छन्। विधानमा एक महिलासहित तीन उपसभापति रहने व्यवस्था भए पनि हालका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पुनः सोही पदमा सर्वसम्मत रूपमा दोहोरिने तयारीमा छन्। २०७९ चैतमा पार्टी प्रवेश गरेका अर्थशास्त्री वाग्ले पदको लोभमा नभई पार्टीको आवश्यकताका कारण उपसभापतिमै सर्वसम्मत हुने एक पदाधिकारीले जानकारी दिएका छन्।

यसैबिच, वर्तमान विधानमा एक मात्र महामन्त्रीको व्यवस्था भए पनि राजनीतिक सहमतिका कारण हाल दुई जना महामन्त्री कार्यरत छन्। सहमहामन्त्री विपीनकुमार आचार्य नेतृत्वको विधान संशोधन समितिले अब विधान नै परिमार्जन गरेर दुई महामन्त्रीको व्यवस्था गर्न लागेको छ। हाल रवि लामिछाने पक्षबाट कविन्द्र बुर्लाकोटी र बालेन पक्षबाट भूपदेव शाह महामन्त्री छन्। बुर्लाकोटीको निरन्तरताबारे केही अन्योल रहे पनि गत वैशाखमा नियुक्त भएका शाहले भने महामन्त्री पदमै निरन्तरता पाउने बुझिएको छ। थरुहट र विवेकशील साझालगायतका दलहरूसँगको एकता समायोजनको नेतृत्व गरेका कारण पनि शाहको सक्रियता बढी देखिएको छ।

पछिल्लो समय रास्वपाको सांगठनिक संरचनामा करिब २० प्रतिशत हिस्सा बालेन पक्षको रहेको बताइएको छ। मूलधारका पुराना कार्यकर्ताभन्दा बालेन निकट भन्दै पार्टी छिर्नेहरूले छिटो जिम्मेवारी पाउने गरेको गुनासो पनि कतिपय नेताहरूको छ। यद्यपि, चार वर्षदेखि संगठन निर्माणमा खटिएको मूलधार नै सांगठनिक रूपमा बलियो रहेकाले महाधिवेशनमा चुनाव भएको खण्डमा बालेन पक्षले जित्न गाह्रो हुने विश्लेषणसमेत गरिएको छ।

नेतृत्व चयनका लागि सहमति र निर्वाचन दुवै पक्षमा बहस भइरहेको छ। एक विभागका सदस्यले भनेका छन्, ‘हामी चार वर्षदेखि दिनरात पार्टी बनाउन खटिएका छौँ । पार्टीको स्थापना गर्नुको मर्म बुझ्न नसक्नेहरू ढोकाबाट नसकी झ्यालबाट केन्द्रीय समितिमा पुग्न खोजेका छन् ।’ रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् र उनीहरूले नै दोस्रो चरणमा पदाधिकारी चयन गर्नेछन्। नेताहरूले भने पदाधिकारीहरूलाई सर्वसम्मत रूपमै टुङ्ग्याउने गरी गृहकार्य गरिरहेका छन्।

यसै गरी, प्रदेश तहमा पनि पुराना सभापतिहरू नै दोहोरिने इच्छामा छन्। कोशीका तपेश्वर यादव, बागमतीका डा. अच्युत्तम लामिछाने, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले पुनः सोही पदमा काम गर्ने आकांक्षा देखाएका छन्। कर्णालीका सभापति खड्काले आफूलाई प्रदेशमै काम गर्ने इच्छा रहेको र सर्वसम्मत भए राम्रो हुने बताएका छन्। सुदूरपश्चिमका संस्थापक सभापति विष्टले पनि संगठनलाई थप व्यवस्थित बनाउन एक कार्यकाल प्रदेशमै रहने विचार व्यक्त गरेका छन्। गण्डकी र लुम्बिनीका सभापतिहरू भने केन्द्रमा आउने दौडमा छन्। काठमाडौँका जिल्ला सभापति प्रदीप विष्टले भने यसपटक सल्लाह गरेर मात्र निर्णय लिने भन्दै सोही पदमा बसिरहनु आवश्यक नभएको सङ्केत गरेका छन्।

रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। त्यसलगत्तै जेठ २६ देखि असार १ गतेसम्म सातै प्रदेशको अधिवेशन सम्पन्न गरिनेछ। पार्टी स्थापना भएको चार वर्ष पुगेको अवसर पारेर असार ७ गतेदेखि ९ गतेसम्म रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुनेछ।

You may also like