‘पहिले व्यवस्थापन, अनि हटाउने’ भन्दै बुटवलमा विरोध प्रदर्शन

by समतल अनलाइन
56Shares

बुटवल । देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आइतबार (जेठ ३ गते) रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विकल्पबिना हटाउन नहुने उनीहरूको माग छ ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन सुरु गरिएको थियो । प्रदर्शनकारीहरूले चौराहाबाट मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकसम्म र्‍याली निकालेका थिए । पछि ट्राफिक चोकमा आयोजित सभामा कार्यक्रम परिणत भएको थियो ।
प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट आएका सुकुम्बासीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले दीर्घकालीन समाधानको योजना नबनाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएको र जबर्जस्ती हटाउने प्रयास गरेको आरोप लगाए ।

उनले विकल्पबिना गरिएको हटाउने कार्यका कारण देशभरका करिब १२ लाख परिवार प्रभावित भएको दाबी गर्दै झन्डै ५० लाख नागरिक प्रत्यक्ष असरमा परेको बताए । भूमिहीन तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन नगरी बल प्रयोग गरेर हटाउने कार्य स्वीकार्य नहुने उनीहरूको चेतावनी छ ।

You may also like