बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।बिहीबार इलाका प्रहरी कार्यालय सालझण्डी बाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नं. ११ बनकट्टी क्षेत्रमा चेकजाँच गर्ने क्रममा दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २८ वर्षीय रबिन बुढा लाई पक्राउ गरेको हो ।
बुटवलबाट दाङतर्फ जाँदै गरेको लु १ ज ४९३६ नम्बरको ईभी गाडीमा सवार उनलाई शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । सो क्रममा उनले पछाडि भिरेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही का अनुसार पक्राउ परेका युवाको साथबाट सेराज्याक २ एमएलका ९० एम्पुल, फेनेरागनका ९० एम्पुल, आईपीपीएल इन्जेक्सनका ९० एम्पुल तथा डाइजापामका ९० एम्पुल बरामद गरिएको छ । साथै उनको साथबाट iPhone 12 मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका बुढाविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।




