गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी निर्वाचित

by समतल अनलाइन
60Shares

बुटवल। गुल्मी जिल्ला समाज यूकेको नेतृत्वमा मञ्जु भण्डारी खरेल सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। आइतबार अल्डरसटमा सम्पन्न समाजको आठौं अधिवेशनले भण्डारीको अध्यक्षतामा नवौं कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा उपाध्यक्षद्वयका रूपमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे चयन भएका छन् भने महासचिवमा महलाल घिमिरे निर्वाचित भएका छन्। सचिवमा राधा खरेल, कोषाध्यक्षमा अर्जुन बस्नेत र सह–कोषाध्यक्षमा माया केसी चयन भएका छन्। त्यसैगरी प्रवक्ताको जिम्मेवारी सुरेश केसीलाई दिइएको छ।

सांस्कृतिक सचिवमा दीपक थापा मैथाने चयन भएका छन् भने सदस्यहरूमा मेजर बुद्धि भण्डारी, सूर्य विक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्डरी अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम, गीता काफ्ले, देव राना, कपूर श्रेष्ठ, निर्मल पौडेल र दिनेश कुमार खरेल सर्वसम्मत रूपमा चयन भएका छन्।

समाजको इतिहास २००७ सालदेखि सुरु भएको हो। संस्थापक अध्यक्ष ओम थापाबाट सुरु भएको नेतृत्व परम्परा अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल र रुद्र थापा हुँदै अहिले मञ्जु भण्डारी खरेलसम्म आइपुगेको छ।

निर्वाचन समितिका संयोजक मीन दर्लामी, सदस्य सचिव मतिप्रसाद पुन र सदस्य राजेन्द्र श्रेष्ठको उपस्थितिमा नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो।

शपथपछि बोल्दै अध्यक्ष भण्डारीले अग्रजहरूको योगदानलाई आत्मसात गर्दै नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउने, समाजलाई सबै गुल्मेलीहरूको साझा थलोका रूपमा विकास गर्ने र बेलायतमा समाजको आफ्नै भवन निर्माण गर्ने लक्ष्य लिएको बताइन्।

महासचिव महलाल घिमिरेले समाजलाई अझ व्यवस्थित, अनुशासित र समयअनुकूल बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, प्रवक्ता सुरेश केसीले संस्थालाई सशक्त बनाउन आफ्नो तर्फबाट पूर्ण प्रयास रहने बताए।

अधिवेशनका अवसरमा संस्थापक तथा पूर्व अध्यक्षहरू, एनआरएनए यूकेका पदाधिकारी, नेपालबाट आएका अतिथि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

यसअघि निवर्तमान अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा महासचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष मुकुन्द हरि खरालले स्वागत मन्तव्य राखेका थिए भने गायिका सोनी कुँवरले सांगीतिक प्रस्तुति प्रस्तुत गरेकी थिइन्।

You may also like