शिवराज नगरपालिकासँग सहकार्य गर्दै चैतन्य एकेडेमीद्वारा लोकसेवा प्रशिक्षण सञ्चालन

by समतल अनलाइन
40Shares

बुटवल। चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले लोकसेवा तयारी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

एकेडेमीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिका, कपिलवस्तुसँगको सहकार्यमा नगरका युवाहरूलाई लक्षित गर्दै प्रशिक्षण प्रदान गरेको हो।

प्रशिक्षण कार्यक्रममार्फत परीक्षामा सफल हुन आवश्यक रणनीतिक अध्ययन, लेखन अभ्यास तथा प्रभावकारी तयारी विधिहरूका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो। अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका उपसचिव तथा कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले लोकसेवा परीक्षाका बहुआयामिक पक्षहरूबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा शिवराज नगरपालिकाका प्रशासनिक प्रमुख पिताम्बर पाण्डेले नगरपालिकाले उपलब्ध गराएको अवसरको अधिकतम सदुपयोग गर्दै लक्ष्य प्राप्तितर्फ अघि बढ्न सहभागी युवाहरूलाई आग्रह गर्दै शुभकामना व्यक्त गरे।

चैतन्य एकेडेमी बुटवलका व्यवस्थापक दीपक ढकालका अनुसार उक्त प्रशिक्षण कार्यक्रम तीन महिनासम्म सञ्चालन हुनेछ।

शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माका अनुसार कार्यक्रममा ५० भन्दा बढी युवाहरू सक्रिय रूपमा सहभागी भई प्रशिक्षण लिइरहेका छन्।

चैतन्य एकेडेमी बुटवलले विगत डेढ वर्षदेखि नासु, खरिदार, बैंकिङ, शिक्षक सेवा, शाखा अधिकृत तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ। छोटो अवधिमै बुटवल शाखाबाट २५ भन्दा बढी विद्यार्थी निजामती सेवामा प्रवेश गर्न सफल भएको व्यवस्थापक ढकालले जानकारी दिए।

You may also like