तिलोत्तमामा ‘सुलभ फार्मेसी’ सुरु: औषधिमा २५% भन्दा बढी छुट

by समतल अनलाइन
110Shares

तिलोत्तमामा ‘सुलभ फार्मेसी’ सुरु: औषधिमा २५% भन्दा बढी छुट
बुटवल । तिलोत्तमा नगरपालिका ले सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यसहित ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याएको छ।
वडा नं.–५ मणिग्राममा सञ्चालनमा आएको उक्त फार्मेसीको उद्घाटन नगरप्रमुख रामकृष्ण खाँण ले बुधबार गरेका हुन्।

फार्मेसीबाट तिलोत्तमा मात्र होइन, अन्य स्थानका सेवाग्राहीले पनि औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

नगरप्रमुख खाँणले यो पहल देशभरका पालिकाका लागि नमुना बन्ने दाबी गर्दै आगामी वर्षदेखि प्याथोलोजी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए।

यस फार्मेसी सञ्चालनका लागि नगरपालिकाले बुट्स मेडिको प्रालि सँग ५ वर्षे सम्झौता गरेको छ। सम्झौता अनुसार घरभाडा वार्षिक २ लाख ५० हजार रुपैयाँ नगरपालिकाले व्यहोर्नेछ भने औषधि तथा सेवा सम्बन्धी सुविधा मेडिकोले उपलब्ध गराउनेछ।

प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार यहाँ विभिन्न देश र कम्पनीका औषधि उपलब्ध हुनेछन्।

नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले विशेषगरी दीर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामीलाई लक्षित गर्दै यस्तो योजना ल्याइएको बताए। यसले बजारमा महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ।

You may also like

This will close in 0 seconds