तिलोत्तमामा १८ वर्षमुनिलाई भेप, हुक्का र सुर्तीजन्य पदार्थमा कडाइ, अनुगमन र कारबाही सुरु

by समतल अनलाइन
52Shares

तिलोत्तमा।तिलोत्तमा नगरपालिका ले १८ वर्षमुनिका बालबालिका तथा किशोर–किशोरीहरुलाई भेप, हुक्का तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोग गर्न रोक लगाउँदै कडाइका साथ अनुगमन तथा कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ। बालमैत्री नगरपालिका निर्माण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित नगरपालिकाले यस्तो निर्णय सार्वजनिक गरेको हो।

नगरपालिकाले पछिल्लो समय विभिन्न होटल, रेष्टुरेन्ट, क्याफे तथा सार्वजनिक स्थलहरुमा विद्यालय तथा कलेज उमेर समूहका किशोर–किशोरीहरुले भेप, हुक्का लगायत सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको गुनासो बढ्दै गएको जनाएको छ। विशेषगरी क्याफे संस्कृति विस्तारसँगै कम उमेरका बालबालिका यस्ता कुलततर्फ आकर्षित हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न आवश्यक कदम चालिएको नगरपालिकाको भनाइ छ।नगरपालिकाका अनुसार बालबालिका तथा किशोर–किशोरीको स्वास्थ्यमा नकारात्मक असर पार्ने यस्ता गतिविधिले सामाजिक र शैक्षिक वातावरण समेत प्रभावित बनाइरहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै होटल, रेष्टुरेन्ट, क्याफे तथा मनोरञ्जनस्थलहरुलाई १८ वर्षमुनिका व्यक्तिलाई भेप, हुक्का वा अन्य सुर्तीजन्य पदार्थ बिक्री नगर्न तथा प्रयोग गर्न नदिन औपचारिक निर्देशन दिइएको छ।

नगरपालिकाले व्यवसायीहरुलाई सचेत गराउँदै नियम उल्लंघन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ। त्यस्तै सार्वजनिक स्थल, होटल वा क्याफेमा बालबालिका तथा किशोर–किशोरीहरुले यस्ता पदार्थ सेवन गरिरहेको देखिए सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई समेत आग्रह गरिएको छ।

खुमलाल भुसाल द्वारा जारी सूचनामा बालबालिकाको स्वास्थ्य सुरक्षा, अनुशासन र सकारात्मक सामाजिक वातावरण निर्माणका लागि सबै अभिभावक, व्यवसायी तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ। सूचनामा बालबालिकालाई दुर्व्यसनबाट जोगाउन समुदायस्तरमै सचेतना आवश्यक रहेको पनि औंल्याइएको छ।

नगरपालिकाले आगामी दिनमा विद्यालय, अभिभावक, युवा क्लब तथा सुरक्षा निकायसँग सहकार्य गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको जनाएको छ। साथै नगर क्षेत्रभित्र अनुगमनलाई थप प्रभावकारी बनाइने र बालबालिकासँग सम्बन्धित संवेदनशील विषयमा कुनै पनि लापरवाही सहन नसकिने स्पष्ट पारिएको छ।बालमैत्री स्थानीय शासन अवधारणालाई व्यवहारमा लागू गर्न तिलोत्तमा नगरपालिकाले पछिल्लो समय शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार र सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। नगरपालिकाको यो पछिल्लो निर्णयलाई बालबालिकालाई कुलतबाट जोगाउने प्रयासका रुपमा हेरिएको छ।

You may also like

This will close in 0 seconds