बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । मंगलबारदेखि सुरु गरिएको उक्त अभियान प्रदेश जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको हो ।
स्वास्थ्यकर्मीको टोली वडा तहमै पुगेर ज्येष्ठ नागरिकहरूको रगत र पिसाबको नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाइएको छ ।
उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रत्येक वडामा शिविर सञ्चालन गरिरहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनका अनुसार संकलित नमुनाको प्रयोगशाला परीक्षणपछि प्राप्त रिपोर्टका आधारमा सम्बन्धित वडामै चिकित्सकमार्फत आवश्यक उपचार सेवा उपलब्ध गराइनेछ ।
उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार अभियानको सुरुवात वडा नम्बर १७, १८ र १९ बाट गरिएको हो। उनले यो कार्यक्रम उपमहानगरपालिकाका सबै १९ वडामा विस्तार गरिने बताइन् ।
उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयले पहिलो दिन तीन वडाका २९३ जना ज्येष्ठ नागरिकको नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए ।
उनका अनुसार परीक्षणअन्तर्गत रगतमा चिनी (अनियमित), पिसाब सामान्य परीक्षण, क्रियाटिनिन, पूर्ण रक्त गणना, युरिक एसिड, एसजिपिटी (कलेजोसम्बन्धी एन्जाइम) तथा बिलिरुबिन (कुल र प्रत्यक्ष) जस्ता परीक्षणहरू समावेश गरिएको छ ।
प्रयोगशालाबाट प्राप्त नतिजाका आधारमा ज्येष्ठ नागरिकहरूको उपचार प्रक्रिया अघि बढाइने जनाइएको छ । उपमहानगरपालिकाले ‘बाआमासँग ज्येष्ठ नागरिक’ कार्यक्रमलाई निरन्तरता दिँदै रोग पहिचान र उपचारलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।




