संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

by समतल अनलाइन
41Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी गर्दै जनताले पाएका हक अधिकार खोस्ने गतिविधि भए सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक ढंगले सहयोग हुने भन्दै संविधानमाथि छेडखानी र राष्ट्रिय हितमाथि कहीँकतैबाट आँच आउन थाले सडक र सदनबाट प्रतिवाद गर्ने बताएका हुन् ।

अहिले विद्यार्थीहरूको हक अधिकार र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै प्रचण्डले लामो सङ्घर्ष, ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न चेतावनी समेत दिए ।

उनले आफूहरू संविधान संशोधनको विरोध नभएको उल्लेख गर्दै जनताको अधिकार थप गर्न र संघीयतालाई बलियो बनाउन सकारात्मक भूमिका र सहयोग हुने स्पष्ट पारे ।

त्यस्तै उनले सोचेको भन्दा अलि फरक ढङ्गले निर्वाचन परिणाम आएकाले पार्टीभित्र गम्भीर रुपमा समीक्षा भइरहेको जानकारी दिए । उनले पार्टीभित्र आत्मसमीक्षा गर्दै जनतामा जाने र संगठनलाई बलियो बनाउन सके आगामी निर्वाचनमा पहिलेको जस्तै नतिजा ल्याउन सकिने बताए ।

You may also like