नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकार गम्भीर : अर्थमन्त्री वाग्ले

by समतल अनलाइन
17Shares

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। सोमबार आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा उनले ‘ग्रे लिस्ट’का कारण अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक छवि बनेको उल्लेख गर्दै निर्धारित समयमै यसबाट बाहिर निस्कन सरकार केन्द्रित भएको बताए।

उनका अनुसार ‘ग्रे लिस्ट’ले लगानीको वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले यसलाई गम्भीर रूपमा लिइएको छ। सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसम्बन्धी अनुसन्धान वर्षौंदेखि संकलित अकाट्य प्रमाणका आधारमा अघि बढाइने उनले जानकारी दिए। ठूलो वित्तीय अपराधमा संलग्न उद्योगी–व्यवसायीमाथि कडा आर्थिक जरिवाना गर्ने नीति रहेको पनि उनले बताए।

‘संस्था वा व्यक्ति छानेर दु:ख दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ । त्यो भनेको छाडा अर्थतन्त्र होइन,’ उनले भने।

अन्य आपराधिक मुद्दामा न्याय निरूपण अदालतबाट हुने स्पष्ट पार्दै उनले कानुनअनुसार मात्रै प्रक्रिया अघि बढाइने बताए। ‘कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने मात्र हो,’ उनले भने, ‘अपराधबाट कसैलाई छुट दिने होइन । तर निजी क्षेत्रलाई धरपकड गर्ने होइन ।’

You may also like

This will close in 0 seconds