काठमाडौँ ।‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् ।
सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।
‘हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ’ उनले भने ।
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । सोही निर्णयअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको हो ।




