काठमाडौं । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा अन्य तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।
मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
रातिको समयमा हिमाली भू–भागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तर कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भू–भागका साथै कोशी र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ।
यस्तै मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




