बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’ : २ घण्टामै करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

by समतल अनलाइन
140Shares

बुटवल । बुटवलमा प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान अन्तर्गत करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय बुटवल ले शनिबार राति कालिका पथ क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको हो।

प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव का अनुसार रातको समयमा चर्को आवाज निकाल्ने, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई नियन्त्रणमा लिन अभियान सञ्चालन गरिएको हो।

उनले बजार क्षेत्रमा मोटरसाइकलको अत्यधिक आवाजका कारण जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको बताए।

शनिबार राति ९ बजेदेखि सुरु गरिएको अभियानमा करिब २ घण्टामै दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा परेका सवारी साधनका धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रहरीले यस्तो अभियानलाई निरन्तरता दिँदै बुटवलका अन्य क्षेत्रमा समेत सर्च अपरेसन विस्तार गर्ने तयारी गरेको छ।

यसअघि पनि बुटवलमा ध्वनि प्रदूषण गर्ने तथा स्वरूप परिवर्तन गरिएका मोटरसाइकलविरुद्ध अभियान सञ्चालन गरिएको थियो। केही समय शान्त रहेको अवस्था पछिल्लो समय पुनः मोटरसाइकल पड्काउने गतिविधि बढेपछि प्रहरी सक्रिय भएको हो।

You may also like