रुपन्देही हाटबजारलाई व्यवस्थित बनाउन व्यवसायीको सरकारसँग आग्रह

पत्रकार टिआर शर्मा सम्मानित

by समतल अनलाइन
89Shares

बुटवल – बस्तु उत्पादक र उपभोक्ताबीचको महत्वपूर्ण पुलको रूपमा रहेको हाटबजारको व्यवस्थापनमा सुधार आवश्यक रहेको व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

रुपन्देही हाटबजार व्यवसायी संघको आइतबार बुटवलमा सम्पन्न २०औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनको उद्घाटन कार्यक्रममा व्यवसायीहरूले सदियौंदेखि सञ्चालन हुँदै आएको हाटबजारमा सरकारको ध्यान पर्याप्त नपुगेको गुनासो व्यक्त गरे। उनीहरूले हाटबजारलाई व्यवस्थित बनाउन आधारभूत पूर्वाधार, खानेपानी, शौचालय, विद्युत लगायतका सुविधामा ध्यान दिन माग गरे।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले हाटबजारमा औद्योगिक उत्पादनसँगै किसानका उत्पादन पनि पहुँच पाएको बताए। उनले विगतमा बजेट विनियोजन भए पनि प्राविधिक कारणले कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा प्राविधिक समस्याहरू समाधान गरी हाटबजार व्यवस्थापनलाई अघि बढाइने जानकारी दिए।
हाटबजार व्यवसायी संघका अध्यक्ष हुमाराम पोखरेलले हाटबजारले स्थानीय अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार रुपन्देहीमा हाल १२२ स्थानमा हाटबजार सञ्चालनमा छन्, जसबाट हजारौं व्यवसायी, किसान र लाखौं उपभोक्ता लाभान्वित भएका छन्। उनले भने, “हाटबजारले किसानलाई बजार पहुँच दिलाउने मात्र नभई उपभोक्तालाई ताजा तथा सुलभ मूल्यमा वस्तु उपलब्ध गराएको छ।”
अध्यक्ष पोखरेलले हाटबजार क्षेत्रमा आधारभूत पूर्वाधार अभाव रहेको उल्लेख गर्दै राज्यले खानेपानी, शौचालय, विद्युत् लगायतको विकासमा ध्यान दिनुपर्ने आग्रह गरे। संघमा हाल ४ हजार ५ सय सदस्य रहेको र १० हजारभन्दा बढीले हाटबजारमा व्यवसाय गर्दै आएको जानकारी पनि उनले दिए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले हाटबजारलाई व्यवस्थित बनाउनेमा नगरपालिका तयार रहेको बताइन। साथै, बुटवल नगरपालिकाका पूर्वप्रमुख पुनाराम पोखरेल, उद्योग वाणिज्य संघ, उद्योग संघ, व्यापार संघ, हाटबजार व्यवसायी संघका पदाधिकारी र किसान व्यवसायी संघका प्रतिनिधिहरूले पनि हाटबजार व्यवस्थित गर्न आवश्यक भएकोमा जोड दिए।

सो अवसरमा मिडियाको माध्यमबाट हाटबजार र स्थानीय व्यवसायको प्रवर्धनमा योगदान पुर्‍याएको भन्दै पत्रकार टिआर शर्मा लाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो।

निर्वाचन समिति संयोजक कृष्ण चौहानले साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी दिएका छन्।

You may also like