काठमाडौंका मेयरदेखि देशको प्रधानमन्त्रीसम्म : बालेन्द्र शाहको उकालो यात्रा

by समतल अनलाइन
104Shares

काठमाडौं।बालेन्द्र शाह (बालेन) शुक्रबार नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आजै पदमा नियुक्त गरेका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेपछि सो पार्टीका वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

वि.सं. २०४७ वैशाख १५ गते काठमाडौंमा जन्मिएका शाह मधेशी मूलका बुवा रामनारायण र आमा ध्रुवदेवी साहका छोरा हुन्। सविना काफ्लेसँग विवाह गरेका उनका एक छोरी छन्।
शाह संसदीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने र मधेशी मूलबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेका छन्।

काठमाडौंमै बाल्यकाल बिताएका उनले एलायन्स एकेडेमीबाट एसएलसी र वीएस निकेतनबाट उच्च माध्यमिक शिक्षा पूरा गरेका थिए। त्यसपछि हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तह अध्ययन गरेका शाहले सन् २०१८ मा भारतको निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) डिग्री हासिल गरेका थिए।

राजनीतिमा आउनुअघि उनी नेपालमा चर्चित र्यापरका रूपमा परिचित थिए। उनका गीतहरूले भ्रष्टाचार, असमानता र सरकारी बेथितिका विषय उठान गर्थे। सन् २०१२ मा ‘सडक बालक’ गीतमार्फत संगीत यात्राको सुरुआत गरेका उनले सन् २०१३ मा ‘रअ बार्ज’ र्याप–ब्याटलमा सहभागिता जनाएपछि थप चर्चा कमाएका थिए।
वि.सं. २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका शाहले मौलिक विकास, सम्पदा संरक्षण र सुशासनको एजेन्डा अघि सारेका थिए।

महानगरको नेतृत्व सम्हाल्दा शिक्षा, स्वास्थ्य, वातावरण तथा सरसफाइ र सुशासनका क्षेत्रमा देखाएको सक्रियताले उनी राष्ट्रिय राजनीतिमा थप स्थापित बने।

निर्वाचनअघि रास्वपासँग सहकार्य गर्दै संसदीय राजनीतिमा प्रवेश गरेका उनले केपी शर्मा ओलीलाई झापा–५ बाट पराजित गर्दै प्रधानमन्त्री बन्ने यात्रा तय गरेका हुन्।

युवापुस्तामाझ लोकप्रिय र सुधारवादी छवि बनाएका शाहबाट मुलुकमा सुशासन स्थापना र समृद्धिको यात्रालाई गति दिने अपेक्षा गरिएको छ।

You may also like