बेल्जियममा हुने इयू टी–२० लिगमा ७ नेपाली खेलाडी अनुबन्धित

by समतल अनलाइन
98Shares

काठमाडौँ । पहिलोपटक आयोजना हुन लागेको इयू टी–२० लिगका लागि बेल्जियममा ७ नेपाली खेलाडी अनुबन्धि हुने भएका छन् । नेपाली टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित कुल ७ खेलाडी विभिन्न टिमको ड्राफ्टमा परेका हुन् ।

दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि–साइन गरेको थियो भने सन्दीप लामिछाने लियेज रेड लायन्समा आबद्ध भइसकेका थिए। बाँकी खेलाडी भने हालै सम्पन्न ड्राफ्टमार्फत विभिन्न टोलीमा अनुबन्ध भएका हुन्। अनिल साह र गुल्शन झा अप्सनल राउन्डबाट चयन भएका छन्।

कप्तान रोहित पौडेल गेन्ट ग्लाडियटर्समा क्याटेगोरी ‘बी’ बाट अनुबन्ध भएका छन्। विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ अन्तर्गत एन्टवर्प एंकर्समा आबद्ध भएका छन्। त्यसैगरी ललित राजवंशी र इशान पाण्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ।

अप्सनल राउन्डबाट अनिल साह र गुल्शन झा पनि जेबी ब्रुग्समा समेटिएका छन्। यी चारै खेलाडी क्याटेगोरी ‘सी’ मा परेका हुन्।

जेबी ब्रुग्स ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो, जुन एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्ससँग आबद्ध छ। उक्त टोलीले यसअघि न्युजिल्यान्डका ओपनर कलिन मनरो, दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन, वायन पार्नेल र निखिल चौधरीलाई प्रि–साइन गरिसकेको छ।

लिगका लागि कुल २२ नेपाली खेलाडीले नाम दर्ता गराएका थिए। ललित राजवंशी, आसिफ शेख र इशान पाण्डेका लागि यो नेपाल बाहिरको फ्रेन्चाइज लिगमा पहिलो सहभागिता हुनेछ । कप्तान रोहित, दीपेन्द्र र सन्दीप भने यसअघि नै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिसकेका खेलाडी हुन्।

You may also like