43
बुटवल । शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलले १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि किशोरले कैची प्रहार गरी हत्या गरेका थिए। पक्राउ परेका किशोर मृतककै छिमेकी हुन्।
किशोरले प्रहरीलाई दिएको बयानअनुसार, उनले लागुऔषध किन्न पैसा अभाव हुँदा चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेका थिए र विवादको क्रममा हत्या गरेका हुन्। प्रहरीका अनुसार, किशोरले मध्यरातमा मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध प्रहार गरेका थिए।
घटनापछि फरार रहेका किशोरलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो। जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान जारी छ।


