अहिलेको जनमत अमेरिकी डिजाइनमा आएको आरोप : नेकपा मसाल

by समतल अनलाइन
89Shares

बुटवल। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन्। चैत ५ र ६ गते बुटवलमा सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो जनमत विदेशी, विशेषतः अमेरिकी डिजाइन र योजनाअनुसार आएको आरोप लगाए।

उनले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन तथा हिंसात्मक घटनाबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै यसलाई वास्तविक जनमत भन्न नमिल्ने दाबी गरे। निर्वाचन नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार नभई बाह्य शक्तिको प्रभावमा सम्पन्न भएको उनको आरोप छ। संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको र त्यसले देशमा कठपुतली सरकार निर्माणको आधार तयार गरेको उनको टिप्पणी थियो।

महामन्त्री सिंहले चैत २३ र २४ गते देशभर भएको आन्दोलनलाई भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भएको बताए। तर, स्पष्ट नेतृत्व र राजनीतिक दिशा अभावका कारण उक्त आन्दोलनलाई विभिन्न अवसरवादी शक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेको उनको भनाइ छ। स्वतःस्फूर्त रूपमा युवाहरूको सहभागिता रहेको आन्दोलनलाई ‘हाइज्याक’ गरिएको उनले आरोप लगाए।

नेपालमा अमेरिकी प्रभाव विस्तार गर्ने प्रयास तीव्र भइरहेको उल्लेख गर्दै उनले केही राजनीतिक दलहरू त्यसप्रति नरम देखिएको टिप्पणी गरे। एमसीसीजस्ता परियोजनामार्फत रणनीतिक प्रभाव बढाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्ने चेतावनी दिए।

चैत २३ र २४ गते भएका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति उनले आपत्ति जनाए। आन्दोलनका क्रममा सर्वसाधारणमाथि गोली प्रहार, आगजनी र तोडफोडजस्ता घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्न माग गरे। साथै, शान्तिपूर्ण आन्दोलनको दाबी गर्ने पक्षले हिंसात्मक गतिविधिप्रति जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।

उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जनमत प्रभावित पारिएको दाबी गर्दै चुनावी परिणाम जनताको वास्तविक समर्थनभन्दा प्रचार र मनोवैज्ञानिक प्रभावको परिणाम भएको टिप्पणी गरे।
विगतमा जनचेतना विकृत हुँदा निरंकुश व्यवस्था लामो समय टिकेको उदाहरण दिँदै अहिले पनि त्यस्तै जोखिम दोहोरिन सक्ने चेतावनी उनले दिए। पत्रकार सम्मेलनमार्फत मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

You may also like