पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीका अनुसार उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
यसअघि दुर्घटनामा अर्घाखाँची शीतगङ्गा–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो, जहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।


