बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण राजमार्गहरूमा आवागमन प्रभावित भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सडक हिलाम्य हुँदा सवारी सञ्चालनमा समस्या देखिएको छ। शुक्रबारदेखि लगातार परेको वर्षाका कारण यहाँ सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।
इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर थम्मन रानाका अनुसार शुक्रबारदेखि नै सडक अवस्था बिग्रिएको हो। उनले भने, “हिजो परेको पानीले समस्या ल्याएको हो। आज फेरि पानी परिरहेकाले गाडी आवागमन अझै असहज भएको छ। एकतर्फी चले पनि गाडी राम्ररी पास हुन सकेका छैनन्, बाटो हिलाम्य छ।”
यस क्षेत्रमा शुक्रबार हावाहुरीसहित ठूलो वर्षा भएको थियो भने शनिबार बिहानदेखि पनि निरन्तर पानी परिरहेको छ।
प्रहरीले अत्यावश्यक बाहेकका यात्रामा सतर्कता अपनाउन आग्रह गरेको छ।


