काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४, धनुषाकी रुबी कुमारी सानैदेखि सामाजिक कुसंस्कारविरुद्ध उभिँदै आएकी पात्र हुन्। बाल्यकालमै विवाहका प्रस्ताव आउन थालेपछि उनले त्यसको खुलेर प्रतिवाद गरिन्। परिवार र समाजको दबाबका बीच पनि उनले ‘पहिले देश सेवा, पछि मात्रै विवाह’ भन्ने अडान छोडिनन्।
बालविवाह र दाइजो प्रथाले निम्त्याएका पीडा उनले आफ्नै समाजमा देखेकी थिइन्। यही अनुभवले उनलाई विद्रोही बनायो। अन्ततः उनी बालविवाहबाट जोगिन सफल भइन् र अध्ययनलाई निरन्तरता दिँदै सिभिल इञ्जिनियरिङमा अघि बढिन्।
२५ वर्षीया रुबी अहिले श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन आयोगबाट प्रमाणपत्र ग्रहण गर्दै उनले मधेस क्षेत्रका कुसंस्कार अन्त्य गर्ने प्रतिबद्धता जनाइन्।
उनले भनिन्, “मधेसमा अझै पनि धेरै छोरीहरुको १६ वर्ष नपुग्दै विवाह गरिन्छ। यो अन्त्य गर्नुपर्छ।”
रुबीका अनुसार बेरोजगारीका कारण धेरै युवाहरु विदेशिन बाध्य छन्। उनका आफ्नै बुवा पनि विगत १० वर्षदेखि साउदी अरबमा मजदुरी गर्दै आएका छन्। अब उनको पहिलो लक्ष्य बुवालाई स्वदेश फर्काउने र देशमै रोजगारी सिर्जना गर्ने रहेको छ।
“स्वदेशमै रोजगारी भए कसलाई विदेशिन मन लाग्छ र?” उनले प्रश्न गरिन्, “मेरो बुबाजस्तै धेरै नेपाली विदेशमा छन्, उनीहरुलाई फर्काउने वातावरण बनाउनुपर्छ।”
यसैबीच, समानुपातिकतर्फ निर्वाचित अन्य सांसदहरूले पनि आफ्ना-आफ्ना समुदायका मुद्दा उठाउने प्रतिबद्धता जनाएका छन्।
चितवनकी समिना मियाँ, जो मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै सांसद बनेकी छन्, उनले शिक्षा र स्वास्थ्यमार्फत महिलालाई सशक्त बनाउनेमा जोड दिइन्। काखमा बच्चा बोकेर प्रमाणपत्र लिन पुगेकी उनले मुस्लिम महिलालाई मूलधारमा ल्याउन आवश्यक पहल गर्ने बताइन्।
दाङ, घोराहीकी भीमकुमारी बुढामगर पनि पहिलो पटक सांसद बनेकी छन्। जनयुद्धकालदेखि सक्रिय उनी अहिले पनि उही ऊर्जा र उत्साहका साथ राजनीतिक यात्रामा अगाडि बढ्ने बताउँछिन्।
त्यसैगरी, दलित अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका गणेश विश्वकर्माले संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिने बताए।
वादी समुदायबाट प्रतिनिधित्व गर्दै सांसद बनेकी सीता वादीले आफ्नो समुदायको आवाज संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाइन्।


