बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ ले युवायुवतीलाई लक्षित गर्दै ड्राइभिङ तालिम सञ्चालन गर्ने भएको छ। नगर विकास योजना ०८२/०८३ अन्तर्गत स्वीकृत उक्त कार्यक्रमका लागि वडाभित्र स्थायी बसोबास गर्ने इच्छुक नागरिकहरूबाट आवेदन आह्वान गरिएको हो।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार १८ देखि ४० वर्ष उमेर समूहका युवायुवतीले आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहनेहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
तालिममा सहभागी हुनका लागि नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको छ। साथै, अन्य स्थानबाट बसाइँ सरेका व्यक्तिहरूले बसाइँसराइ प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। आवेदक कम्तीमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने मापदण्ड राखिएको छ। महिलाको हकमा एकल महिलालाई प्राथमिकता दिइने जनाइएको छ।
वडा अध्यक्ष रमेश डुम्रेले युवाहरूलाई सीपमूलक बनाउँदै रोजगारीतर्फ जोड्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताए। “वडाभित्रका युवायुवतीलाई सीपमूलक बनाउने उद्देश्यले ड्राइभिङ तालिम ल्याएका हौँ। इच्छुक सबैले समयमै आवेदन दिनुहोस्, यो अवसर भविष्यमा रोजगारीसँग जोडिन सहयोगी बन्न सक्छ,” उनले भने।


