तीन दिनसम्म हावाहुरी र वर्षाको जोखिम, सतर्क रहन आग्रह

by समतल अनलाइन
77Shares

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग को आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।

त्यस्तै, दाङ र नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरू तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ७० किलोमिटर प्रतिघण्टासम्म) चल्ने सम्भावना रहेको छ।

प्राधिकरणले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ। पछिल्ला केही दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गरिएको छ।

यस्ता जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई अनावश्यक रूपमा यात्रा नगर्न, हावाहुरी चल्दा घरको झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित राख्न तथा सवारी साधन सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ। साथै, खुला स्थान, रुखमुनि, बिजुलीका तार तथा टेलिफोनका खम्बा नजिक नबस्न पनि अनुरोध गरिएको छ।

प्राधिकरणले मौसमसम्बन्धी सूचना नियमित रूपमा हेरी आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।

You may also like