आज समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिइँदै

by समतल अनलाइन
45Shares

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरिनेछ । त्यसपछि दिउँसो राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैबीच, प्रतिवेदन बुझाएपछि आयोगले बेलुकी ५:३० बजे केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ ।

निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (९)(१०) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।

You may also like