बुटवल । रुपन्देहीमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भेटिएको छ। जिल्लामा आवश्यकताअनुसार ग्यास आयात भइरहे पनि केही व्यवसायीले ग्यास लुकाएर अभावको अवस्था बनाएको अनुगमनबाट खुलेको हो।
सोमबार इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता संघ रुपन्देहीको रोहवरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा व्यवसायीहरूले ग्यास लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सिलिन्डर फेला परेको इलाका प्रशासन कार्यालय बुटवलका नायब सुब्बा रामप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार बुटवल र सैनामैना क्षेत्रका १५ वटा ग्यास डिलरमा गरिएको अनुगमनका क्रममा ५०० भन्दा बढी ग्यासका सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेको हो। हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरप्राइजेज (झोलुङ्गेपुल), न्यू सफल सप्लायर्स (तामनगर), कृतिका दर्शन (ढवाह), न्यौपाने नव स्टोर (तामनगर), पृथ्वी जनप्रिय स्टोर (सैनामैना), बोलबम ट्रेडर्स (सैनामैना), ओम शान्ति सप्लायर्स (सैनामैना) र लाङ्घाली ग्यास डिलर (सैनामैना) लगायतका ग्यास स्टोरमा अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा विशेषगरी सैनामैना–५ स्थित लाङ्घाली ग्यास डिलरले उपभोक्तासँग तोकिएको मूल्यभन्दा धेरै रकम असुल्दै ग्यास बिक्री गरेको पाइएको शर्माले बताए। उनका अनुसार उक्त डिलरले एक सिलिन्डर ग्यासमा ३०० रुपैयाँभन्दा बढी अतिरिक्त रकम लिएको भेटिएको हो।
अनुगमनका क्रममा केही उपभोक्ताबाट बढी रकम लिएको पुष्टि भएपछि तत्काल फिर्ता गराइएको छ,” शर्माले भने, “साथै उक्त डिलरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिनेछ।
ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले भने जिल्लामा आवश्यकता अनुसार नै ग्यास आपूर्ति भइरहेको बताए। उनले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने व्यवसायीलाई संघले संरक्षण नगर्ने स्पष्ट पारे।
अध्यक्ष पन्थले ग्यासको अनावश्यक भण्डारण नगर्न व्यवसायीहरूलाई आग्रह गर्दै यदि उपभोक्ताले ग्यास नपाएको अवस्था आएमा ग्यास विक्रेता संघलाई जानकारी गराउन पनि अनुरोध गरेका छन्।
उनले कानुनविपरीत कृत्रिम अभाव सिर्जना गर्ने वा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीमाथि सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्ने समेत बताए।


