बजार अनुगमनको क्रममा लुकाइराखेको ६ हजार सिलिन्डर भेटिएपछि ३ लाख जरिवाना

by समतल अनलाइन
83Shares

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास सिलिन्डर स्टक गरेर राखिएको फेला परेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा पुगेको बजार अनुगमन टोलीले उद्योगको डिपोमा १४.२ केजीका ६ हजार ३७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको भेटाएको हो। अनुगमनका क्रममा उक्त सिलिन्डर बजारमा पठाउन आनाकानी गरिएको पनि पाइएको विभागले जनाएको छ।

उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

विभागले जरिवानासँगै डिपोमा मौज्दात रहेका सबै ६ हजार ३७७ वटा सिलिन्डर नेपाल आयल निगमको समन्वयमा आजकै मितिबाट उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

सहज रूपमा ग्यास आपूर्ति हुनुपर्ने अवस्थामा डिपोमा सिलिन्डर जम्मा गरेर कृत्रिम अभाव सिर्जना गरिएको विभागका महानिर्देशक रोशन ज्ञवालीले बताए।

वाणिज्य विभागका अनुसार बजारमा ग्यास नपाएर सर्वसाधारण घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहँदा ठूलो परिमाणमा ग्यास होल्ड गरेर राख्नु गैरकानूनी हो।

उता श्रीराम ग्यासका बिक्रेताले भने उद्योगबाट ग्यास नआएकाले उपभोक्तालाई सहज रूपमा बिक्री गर्न नसकेको बताएका छन्।

विभागले बजारमा ग्यास अभाव भइरहेका बेला अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको र कालोबजारी वा होल्डिङ गरेको पाइए कडा कानुनी कारबाही गरिने जनाएको छ

You may also like