अध्ययन भन्छ- शरीरको तौल अनुसार कति ग्राम प्रोटिन आवश्यक पर्छ ?

by समतल अनलाइन
75Shares

काठमाडौँ । स्वस्थ शरीरका लागि प्रोटिन अत्यन्त आवश्यक पोषक तत्त्व मानिन्छ। शरीरमा मांसपेशी निर्माणदेखि कपाल, छाला, एन्जाइम र हर्मोन बन्नेसम्मका धेरै प्रक्रियामा प्रोटिनको महत्वपूर्ण भूमिका रहने विभिन्न अध्ययनले देखाएका छन् । तर धेरै मानिसले खानामा स्वाद र पेट भर्ने कुरामा ध्यान दिए पनि आवश्यक प्रोटिनको मात्रा भने बेवास्ता गर्ने गरेका छन् ।

परम्परागत खानपानमा कार्बोहाइड्रेट बढी हुने भएकाले धेरै मानिसको आहारमा प्रोटिनको कमी देखिने गरेको छ। अध्ययनहरूका अनुसार सामान्य वयस्क व्यक्तिलाई प्रायः आफ्नो शरीरको तौल अनुसार प्रतिकिलो ०.८ देखि १ ग्रामसम्म प्रोटिन आवश्यक पर्छ । उदाहरणका लागि ६० किलो तौल भएको व्यक्तिलाई दैनिक करिब ४८ देखि ६० ग्राम प्रोटिन चाहिन्छ । यो मात्रा व्यक्तिको उमेर र शारीरिक सक्रियताका आधारमा अझ बढ्न पनि सक्छ । प्रोटिनको कमी हुँदा मांसपेशी कमजोर हुने, थकान बढ्ने जस्ता समस्या देखिन सक्छन् ।

हार्भड मेडिकल स्कुलले गरेको एक अध्ययनका अनुसार धेरै शारीरिक गतिविधि नगर्ने व्यक्तिका लागि प्रतिकिलो ०.८ ग्राम प्रोटिन पर्याप्त मानिन्छ । तर नियमित व्यायाम गर्ने मानिसलाई भने अझ बढी प्रोटिन आवश्यक हुन्छ । भारी कसरत वा शक्ति अभ्यास गर्ने व्यक्तिलाई मांसपेशी पुनःस्थापनाका लागि प्रतिकिलो तौल अनुसार करिब १.२ देखि १.७ ग्रामसम्म प्रोटिन चाहिने बताइएको छ। खेलाडीका हकमा यो मात्रा २ ग्रामसम्म पुग्न सक्छ ।

उमेरका आधारमा पनि प्रोटिनको आवश्यकता फरक हुन्छ । बालबालिका र किशोरावस्थामा शरीरको विकासका कारण बढी प्रोटिन आवश्यक हुन्छ । ५० वर्षपछि मांसपेशी स्वाभाविक रूपमा घट्न थाल्ने भएकाले वृद्ध व्यक्तिलाई पनि बढी प्रोटिन लिन सल्लाह दिइन्छ । गर्भवती तथा स्तनपान गराइरहेका महिलाले सामान्यभन्दा करिब २० देखि २५ ग्राम बढी प्रोटिन लिनु उपयुक्त हुने बताइएको छ ।

प्रोटिनको कमी हुँदा कपाल झर्ने, नङ कमजोर हुने र बारम्बार बिरामी पर्ने जस्ता लक्षण देखिन सक्छन् । तर आवश्यकभन्दा धेरै प्रोटिन, विशेषगरी पूरक पदार्थमार्फत लिँदा मिर्गौलामा दबाब पर्नुका साथै शरीरमा पानीको कमी हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउछन् ।

विशेषज्ञका अनुसार दाल, पनीर, अण्डा र सोयाबिनजस्ता प्राकृतिक स्रोतबाट प्रोटिन लिनु पूरक पदार्थको तुलनामा सुरक्षित र प्रभावकारी मानिन्छ। सन्तुलित आहारमा प्रोटिनको सही मात्रा समावेश गर्न सके शरीर स्वस्थ रहनुका साथै तौल नियन्त्रण र शरीरको चयापचय प्रक्रियामा पनि सहयोग पुग्ने बताइएको छ ।

You may also like