काठमाडौं । कोरियन भाषा परीक्षाको उत्पादनमुलक तर्फको परीक्षाको नतिजा प्रकाशित भएको छ । यस परिक्षामा १०.८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये नेपालस्थित ईपिएस कोरिया शाखाले मंगलबार प्रकाशित गरेको नतिजा अनुसार ६ हजार ७१ जना उत्तीर्ण भएका हुन् ।
परीक्षामा आवेदन दिएका ६७ हजार २९७ जनामध्ये ८३.६ प्रतिशत सहभागी भएका थिए । यसपटक ९७.५ प्रतिशत अंक ल्याउने मात्र उत्तीर्ण भएका छन् । इपिएस कोरीय शाखाका अनुसार यसपटक उत्तीर्ण हुनका लागि ४० वटा प्रश्नमध्ये ३९ वटाभन्दा बढी उत्तर मिलाउने उत्तीर्ण भएका छन् ।
पहिलो चरणमा उत्तीर्ण भएका परीक्षार्थीहरू दोस्रो चरणमा सञ्चालन हुने स्किल टेस्टमा सहभागी हुने र स्किल टेस्टमा सफल भएमा मात्र बाँकी प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको छ ।


