बिहे हेर्न गएका दुई किशोरीको शव नदीमा भेटियो, अर्की एक बेपत्ता

by समतल अनलाइन
100Shares

रुकुम पश्चिममा बिहे हेर्न गएका तीन युवतीमध्ये दुई जनाको शव भेटिएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ भाग्ने नजिकै सानोभेरी नदीमा उनीहरूको शव भेटिएको हो ।

१४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको शव नदीमा भेटिएको रुकुम पश्चिमका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार शुरूमा उर्मिलाको शव भेटिएको थियो । उनको शव भेटिएको एक/डेढ मिटर तल कल्पनाको शव भेटिएको डीएसपी पौडेलले बताए ।

उनीहरूसँगै बिहे हेर्न गएकी १४ वर्षीया सपना ओली बेपत्ता छन् । उनीहरू सोमबार बेलुका पारिपट्टीको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए । बिहे हेरेर घर फर्किने क्रममा उनीहरू पुल नतरेर गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किएका थिए ।

त्यसैबेला उनीहरूलाई नदीले बगाएको आशंका गरिएको छ । बिहे हेर्न उनीहरू मंगलबार बिहानसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । त्यसक्रममा शुरूमा उर्मिलाको शव भेटिएको थियो ।

बेपत्ता सपनाको खोजी भइरहेको डीएसपी पौडेलले बताए । ‘हामीले तीनै जनाका आफन्तसँग कुरा गर्‍यौं, नानीहरू नदीपारी बिहे हेर्न गएका रहेछन्’, पौडेलले भने, ‘सपनाको अझै खोजी गरिरहेका छौं । यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’

You may also like