बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक अनुमानअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। हाल विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन तथा सिलबन्दी गर्ने कार्य जारी रहेको उनले जानकारी दिए।
उनका अनुसार सबै मतदान केन्द्रको अन्तिम विवरण प्राप्त भइनसकेको भए पनि प्रारम्भिक सूचनाअनुसार ६५ प्रतिशतभन्दा बढी मतदान भएको देखिएको छ। सम्पूर्ण मतपेटिका प्राप्त भएपछि यथार्थ विवरण सार्वजनिक गरिने उनले बताए।
मतगणनाका लागि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा अलग–अलग मतगणनास्थल तोकिएको छ। मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठकको निर्णयअनुसार आज राति वा भोलि बिहानदेखि मतगणना सुरु गरिने तयारी रहेको बस्नेतले बताए।
रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा तीन लाख ४६ हजार २०३ पुरुष, तीन लाख २६ हजार ३११ महिला र ९ अन्य गरी कुल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन्।
मतगणनाका लागि क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित वडा कार्यालय, क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका कार्यालयको सभाहल तथा क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणनास्थल तोकिएको छ।
निर्वाचन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगले समन्वय गर्दै आएको छ।


