काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधवार) राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
आयोगले आवश्यक सुरक्षा व्यवस्था कडाइका साथ लागू गर्न सरकारलाई सिफारिस गरेअनुसार बुधवार राति १२ बजेदेखि बिहीवार साँझ ५ बजेसम्म सवारी आवागमनमा निषेध गरिएको हो। मतदान कार्य सम्पन्न नहुन्जेलसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदानको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो। उहाँका अनुसार अत्यावश्यक र आयोगबाट स्वीकृत पास प्राप्त सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ।
कुन–कुन सवारी चल्न पाउने?
आयोगले तीन प्रकारका सवारीसाधनलाई सञ्चालन अनुमति दिएको छ
अतिआवश्यक सेवाका सवारीसाधन
एम्बुलेन्स
दमकल
शववाहन
रक्तसञ्चारका सवारीसाधन
खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी
कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन
निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधन
सूचना अधिकारी घिमिरेले सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई आज राति १२ बजेसम्म आफ्ना गन्तव्यमा पुगिसक्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “आज राति १२ बजेपछि मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अथवा भोली साँझ ५ बजेसम्म सवारी आवागमनमा निषेध हुन्छ। त्यसैले सबैले समयमै गन्तव्यमा पुग्नुपर्नेछ।”
समस्या आए के गर्ने?
आयोगले सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ। आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न यस्तो कदम चालिएको आयोगको भनाइ छ।


