काठमाडौं।अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व (पश्चिम एसिया)मा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेपाली सुरक्षित छन् ।
सरकारले तत्काल खतरा नरहेको दोहोर्याए पनि युद्धको सम्भावित विस्तार र हवाई अवरोध लम्बिँदै जाँदा लाखौँ नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता भने बढ्दो छ । हवाई उडान ठप्प, सैन्य गतिविधि तीव्र र कूटनीतिक सतर्कता बढेसँगै सरकार पनि आकस्मिक तयारीमा जुटेको छ । सरकारले परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ । टोलीमा गृह, अर्थ, कानुन, पर्यटन तथा नागरिक उड्डयन, कन्सुलर सेवा विभाग, राहदानी विभाग, नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका प्रतिनिधि छन् ।
पश्चिम एसिया मामिला हेर्ने महाशाखा प्रमुख तथा टोलीका सदस्यसचिव रामकाजी खड्काका अनुसार सम्भावित उद्धार रणनीति र परिस्थितिको निरन्तर विश्लेषण सुरु भइसकेको छ । ‘पश्चिम एसियाली मुलुकहरूसँग नेपालको सुमधुर सम्बन्ध छ । ती सरकारहरूले पनि नेपालीहरूसहित त्यहाँ रहेका विदेशी नागरिकको सुरक्षामा गम्भीर चासो दिनुभएको छ,’ खड्काले भने, ‘इमर्जेन्सी रेस्पोन्स टिमले काम थालिसकेका छौँ ।’
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रका १० कूटनीतिक नियोग २४सै घण्टा सक्रिय रहेको बताए । ‘हामी सबै अवस्थाको सूक्ष्म आकलन गरिरहेका छौँ, नेपालीको सुरक्षा पहिलो प्राथमिकता हो,’ उनले भने ।
ट्रान्जिटमा एक हजारभन्दा बढी नेपाली
क्षेत्रीय हवाई उडान अवरुद्ध हुँदा अबुधाबी, दुबई, दोहा र कुवेतका विमानस्थलमा कम्तीमा एक हजार नेपाली पारगमनमै रोकिएका छन् । सम्बन्धित एयरलाइन्सले उनीहरूको अस्थायी बसोबास र खानपानको व्यवस्था मिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इरानबाट फर्किने क्रममा दुई नेपाली दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अड्किएका छन् । उनीहरू तेहरान–बाकु हुँदै दुबई पुगेपछि उडान बन्द भएको थियो । इरानमै रहेका अन्य ६ जनाले फर्किन आनाकानी गरेको र दुईजनाको बसोबास अनुमति ९रेसिडेन्सी कार्ड० समेत सकिएको अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
कुन देशको अवस्था के ?
युएईमा एक नेपालीको ज्यान गएको छ । त्यहाँ अन्य नेपाली सुरक्षित छन् । युएई सरकारले ट्रान्जिटमा रहेका विदेशीलाई होटेलमा बस्ने व्यवस्था गरेको छ र आफ्नो सुरक्षा प्रणाली सक्षम रहेको भन्दै राजदूतहरूलाई ब्रिफिङ दिएको जानकारी अबुधाबीस्थित नेपाली दूतावासले पठाएको छ ।
बहराइनस्थित अमेरिकी सैन्य बेसलक्षित आक्रमणका खबर आए पनि त्यहाँका नेपाली सुरक्षित छन् । कुवेतमा अमेरिकी दूतावास अस्थायी रूपमा बन्द छ र वैकल्पिक सैन्य विमानस्थल पनि बन्द गरिएको छ ।
कुवेत विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारेर होटेलमा राखिएको छ । इराकले आफ्नो एयरस्पेस बन्द गरेको छ । त्यहाँ रहेका करिब ३० हजार नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।
ओमानमा नेपाली सुरक्षित छन् । लेबनानको दक्षिणी भेगमा आक्रमण भए पनि उत्तरी क्षेत्रमा रहेका करिब १५ सय नेपाली घरेलु कामदार सुरक्षित छन् । दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत नेपाली सैनिक पनि सुरक्षित रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए ।
साउदीमा हज गर्न गएका ३६ नेपाली मुस्लिम धर्मावलम्बी उडान रोकिँदा अलपत्र परेका छन् । उनीहरू सुरक्षित रहेको र उडान खुलेपछि ढाका हुँदै फर्काउने तयारी रहेको जनाइएको छ ।
खाडी क्षेत्रमा रहेका नेपालीको रजिस्ट्रेसन सुरु, कन्सुलर सेवा
विभागले खाडी क्षेत्रमा रहेका नेपालीलाई आफ्नो अवस्था विवरण उपलब्ध गराउन ‘इ–फारम’ सुरु गरेको छ । महानिर्देशक दुरपदा सापकोटाले भनिन्, ‘कहाँ, कस्तो अवस्थामा हुनुहुन्छ र कस्तो सहयोग चाहिएको छ भन्ने तथ्यांक संकलन गर्दै छौँ ।’


