६ सरकारी कागजातका आधारमा मतदान गर्न पाइने

by समतल अनलाइन
70Shares

काठमाडौ ।बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आयोगले तोकेका मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, मतदानका लागि मतदाताले परिचयपत्रसहितको कागजात बोकेर जानुपर्नेछ। आयोगले मतदाता नामावलीमा नाम दर्ता भएका मतदातालाई ६ प्रकारका कागजातमार्फत मतदान गर्न अनुमति दिएको छ।

मतदाता परिचयपत्र नभएमा आफ्नो नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात बोकेर मतदान गर्न सकिन्छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था हुनेछ।

शारीरिक रूपमा अशक्त व्यक्ति, वृद्धवृद्धा, गर्भवती वा सुत्केरी महिला तथा आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि आयोगले विशेष व्यवस्था मिलाएको छ। ती मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।

निर्वाचन आयोगले खटिएका कर्मचारीहरूलाई अशक्त र विशेष आवश्यकताका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउने निर्देशन पनि दिएको छ।

You may also like