काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ दिन अवधिका लागि १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना प्रकाशित गर्दै फागुन १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जनाएको छ ।
बोलकबोलको आधारमा ब्याजदर निर्धारण गरिनेछ । निक्षेप संकलनको निष्काशन मिति फागुन १९ गते नै रहनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ ।
बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । उक्त उपकरण नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
यो बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदर भएका बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा प्रोराटा आधारमा बाँडफाँड हुनेछ ।
आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ । स्वीकृत बोलपत्रको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खाताबाट काटी अलग्गै खातामा जम्मा गरिनेछ ।
यदि निष्काशनको दिन खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने जानकारी दिइएको छ ।
भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न पाइनेछ । साथै, भुक्तानी मिति अघि उक्त निक्षेप रकम फिर्ता वा समयअगावै भुक्तानी नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।


