मौन अवधि सुरु, चुनावी प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

by समतल अनलाइन
61Shares

निर्वाचनको अन्तिम घडी नजिकिँदै जाँदा आज (मंगलबार) राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

निर्वाचन आयोग का अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मतदान सम्पन्न नभएसम्मका लागि स्थिर समय अर्थात् मौन अवधि लागू गरिएको हो।

मौन अवधि सुरु भएसँगै अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन्। यस अवधिमा चुनावी सभा, जुलुस, घरदैलो कार्यक्रम, प्रचारात्मक सामग्री वितरण तथा सामाजिक सञ्जालमार्फत हुने डिजिटल प्रचारप्रसारसमेत पूर्ण रूपमा निषेध गरिएको छ।

निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टरहरू पनि हटाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

निर्वाचनलाई शान्त, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउनका लागि मौन अवधि लागू गरिएको आयोगले जनाएको छ।
यस अवधिमा उम्मेदवारहरूले मतदातालाई आर्थिक प्रलोभन वा अन्य माध्यमबाट प्रभावित पार्ने जोखिम रहने भएकाले पनि आयोगले आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्ने अभ्यास गर्दै आएको छ।

आयोगका अनुसार आचारसंहिता उल्लंघन भए नभएको विषयमा २४ सै घण्टा अनुगमन भइरहेको छ। मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन वा गोष्ठी नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न आयोगले सबै सरोकारवालालाई आग्रह गरेको छ।

फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आयोगले आवश्यक प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा गरिसकेको जनाएको छ।

You may also like